इन्स्पेक्टर सन्तोषी महत मुत्यु प्रकरण : परिवारले दियो अर्का इन्स्पेक्टर विरुद्ध पनि आत्महत्या दुरुत्साहनको जाहेरी

१२ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले आत्महत्या दुरुत्साहनमा थप एक जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको भनाई छ।उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको दाबी परिवारको छ ।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा र हाल २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको  छ ।पक्राउ पुर्जी लिएर अनुसन्धान गर्ने  प्रहरीको तयारी छ ।

महतको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।