नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशबिचको सम्बन्ध थप विस्तार गर्न टेवा पुगेको छ : प्रधानमन्त्री

१६, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल–जापान फ्रेन्डसिप समिट ’ बाट दुई देशबिचको सम्बन्ध थप विस्तार गर्न टेवा पुगेको बताएका छन् ।  प्रधानमन्त्री  ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका हुन् ।

समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच सरकार–सरकार र जनता–जनतासबिचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताए ।

“नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता अशल सम्बन्धका अनेक आयामहरु छन् ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीबिचको मित्रता अब्बल छ । खाली मित्रताबाहेक अरु केही छैन । हाम्रो सम्बन्ध साकुरा जस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनु परेको छ ।’’

प्रधानमन्त्री ओलीले युद्धले विनास र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्नुहुँदै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको पनि बताएका छन्।