
१६, फागुन काठमाडौं । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा। प्रकाश बुढाथोकीले यस्तो बताएका हुन् ।
प्रवक्ता बुढाथोकीले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताए । अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उनको भनाइ छ । उनले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताए ।
उनले भने, ‘माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यूको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रयोगशालामा उपकरण र जनशक्ति थप गरी सेवा बिस्तार गरिएको छ । साथै एमआरआई सेवाको क्षमता पनि महिनामा दुई सय जनाभन्दा बढीले सेवा लिन पाउने गरी व्यवस्था गरिएको छ ।
