अनुशासित र यथार्थपरक बजेट ल्याइन्छ : अर्थमन्त्री

२२, फागुन काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् । यर्थाथपरक बजेट आउँदा बिच बिचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने पनि उनको भनाइ छ ।

आव २०८२र८३ को बजेट निर्माणका लागि बुधबारदेखि सुरु भएको मन्त्रालयगत छलफलका क्रममा उनले यस्तो बताएको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरे । उनले सङ्घ, प्रदेश र स्थानीय सरकार रहेकाले सङ्घीयता र सङ्घ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए । मन्त्रालय र विभिन्न निकायबिचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।

विपत्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबिच तादाम्यता मिलाएर आगामी आवको बजेट बनाउने बताएको छ ।