
२६, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् । भौगर्भिक समाजद्वारा आज यहाँ आयोजित सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु न्यायको मुद्दालाई विश्वजगत्मा पुर्याउनुपर्ने बताए ।
उनले विकसित देशहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता विकासशील एवं अल्पविकसित देशहरू समेत प्रभावित हुनुपरेको सन्दर्भमा जलवायु न्यायको विषयलाई जोडदार रूपमा उठाउन सक्नुपर्नेमा जोड दिए।
जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप तथा व्यवस्थापन जस्ता जल्दाबल्दा विषयले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै राष्ट्रपति पौडेलले मानव जनजीवनसँग प्रत्यक्ष सरोकार रहेको यस किसिमका संवेदनशील मुद्दा सम्बोधनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सहयोग र सहकार्य हुनुपर्ने खाँचो औँल्याए ।
