
२६, फागुन काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् ।
सोमबार निर्वाचन क्षेत्रमा एक मन्दिर शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताएका हुन् ।उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए । निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन ।
जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबीच कम्युनिकेशन सही रूपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि जिकिर गरेका छन् । आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजसेवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उनको भनाइ छ ।
