सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

७, चैत काठमाडौं । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ ।

सङ्घले यसको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सोही कम्पनीमार्फत सगरमाथामा बाटो खोल्ने कार्यमा अशोक लामाको नेतृत्वमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा सहभागी छन् ।

सङ्घले सो टोलीलाई सगरमाथाको बाटो निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । सङ्घका महासचिव ऋषिराम भण्डारीले वसन्त ऋतुको सगरमाथा हिमाल आरोहणका लागि बाटो बनाउन दक्ष आरोही त्यसतर्फ गएको बताए । “सगरमाथा र ल्होत्से हिमालमा बाटो बनाउन तथा डोरी टाँग्न दक्ष शेर्पा आरोही सामग्रीसहित सगरमाथा प्रस्थान गरेका छन्”, उनले भने, “योसँगै सगरमाथा आरोहणको चहलपहल बढेको छ ।

अधिकांश ठूला आरोहण व्यवस्थापन गर्ने कम्पनीका कर्मचारी आधार शिविरमा व्यवस्थापनको काममा खटिएका छन् ।” एट्के कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले सगरमाथाको चुचुरोसम्म टाँग्ने डोरी, ‘क्लाइम्बिङ इक्युमेन्ट’, ‘टेक्निकल डिभाइस’ बाटो बनाउने टोलीलाई हस्तान्तर गरिएको जानकारी दिए । उनले सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन कम्पनीले सम्पूर्ण क्षमताका साथ काम गर्ने विश्वास व्यक्त गरे ।