
१२, चैत काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले जानकारी दिए । घिसिङ दोस्रो पटक २०७८ साउन २५ गते कार्यकारी निर्देशक नियुक्त भएको थियो ।
मन्त्री अधिकारीले मन्त्रीपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएपछि नयाँ कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको जानकारी दिए । उनी लामो समयदेखि प्रसारण लाइनको गुरुयोजना, विद्युत् माग प्रक्षेपणका काममा सक्रिय थियो ।
गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोध्नुभएको थियो । कार्यकारी निर्देशक घिसिङको आगामी साउनमा कार्यकाल सकिनुअघि नै सोमबारको मन्त्रीपरिषद्को बैठकको निर्णयबाट हटाएको हो ।
