दुर्गमको विद्यालयमा आवासीय सुविधा

१३, चैत काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ । चीनसंगको सिमाना रहेको दुरदराजका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयमै बस्ने व्यवस्था गरिएको हो ।

लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरिएको विद्यालयका शिक्षक विकल तामाङले बताएका छन् । यसअघि विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक मिलेर बिहान एक छाक खाना विद्यालयमै गर्ने व्यवस्था गरिँदै आएकोमा अब भने विद्यालयमै आवासीय सुविधा प्रदान गरिएको हो ।

उहाँले विद्यालयमा बालविकासदेखि कक्षा ७ सम्म २५ जना बालबालिका रहेको र ती विद्यार्थीमध्ये कक्षा १ देखि ७ सम्मका २० जना विद्यार्थीलाई विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा दिएर राख्ने कार्य भइरहेको बताए । यस वर्षबाट अभिभावकलाई समेत आर्थिक बोझ हटेको छ । यसका लागि आत्मीय संस्थाले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवासीय सुविधा प्रदान गर्ने गरेको हो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गुणस्तरीय शिक्षा लिमीका बालबालिकालाई प्रदान गर्न सहयोगी संस्था लागिपरेको बताउँदै अब सम्पूर्ण रूपमा लिमी विद्यार्थीलाई शिक्षा आर्जन गर्ने कुरा निःशुल्क भएको बताए ।