गृह मन्त्रालयमा आकस्मिक सुरक्षा सम्बन्धी बैठक जारी

१५, चैत काठमाडौं । पछिल्लो समय राजावादी समूहको प्रदर्शन उग्र रूपमा फैलिँदै गएपछि गृह मन्त्रालयमा आकस्मिक सुरक्षा सम्बन्धी बैठक बसेको छ । देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शनलाई तीव्र बनाएसँगै उत्पन्न सुरक्षा चुनौतीको समीक्षा गर्न यो बैठक आयोजना गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकमा गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ । स्रोतका अनुसार, बैठकमा हालको प्रदर्शनको प्रकृति, यसले निम्त्याउन सक्ने सम्भावित जोखिम र शान्ति(सुरक्षा कायम राख्न आवश्यक रणनीतिबारे गहन छलफल भइरहेको छ ।

प्रशासन सिँहदरवारको एक विशेष स्रोतले दिएको जानकारीअनुसार, बैठकमा प्रदर्शनको समीक्षा गर्दै तत्काल र दीर्घकालीन योजनाहरू तय गर्ने प्रयास भइरहेको छ ।

प्रदर्शनकारीहरूको गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई कसरी परिचालन गर्ने, भीड व्यवस्थापन कसरी गर्ने र संवेदनशील क्षेत्रमा थप सुरक्षा सतर्कता कायम गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ । यसैबीच, राजधानी काठमाडौँका केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच तनावको स्थिति सिर्जना भएको खबर प्राप्त भएको छ ।