एकीकृत समाजवादी राजावादीविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

१७, चैत काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सुरेश रजकको हत्या भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । आज (आइतबार) पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरूले घरभित्र थुनेर आगो लगाइ बीभत्स हत्या गरेको भन्दै कारवाहीको माग गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ ‘तथाकथित प्रदर्शनका नाममा दरबारिया, राजावादी वितण्डावादीहरूले मान्छेलाई जिउँदै जलाउने, निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, सञ्चार गृहमा आक्रमण, लुटपाट गर्ने अत्यन्त आततायी, अराजक र हिंस्रक कामहरू गरेका छन्, एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई रिपोर्टिङकै क्रममा घरभित्र थुनेर आगो लगाइ बीभत्स हत्या गरिएको छ, सुरक्षाकर्मीको हतियार खोस्ने, त्यसको फोटो खिच्ने पत्रकारको खुट्टा भाँच्ने घृणित काम गरेका छन्, हाम्रो पार्टी पत्रकार रजकका हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गर्दछ । त्यस्तै पार्टीले निजी घर, पसल र गाडीहरूमा आगजनी गर्ने, राजनीतिक दलका नेताहरूको घरमा ढुंगामुढा गर्ने काम गरेको भन्दै यस्तो अराजक र आपराधिक दृश्य सभ्य समाजका लागि स्वीकार्य नहुने जनाएको छ।

‘त्यसै गरी अत्यावश्यक औषधि उत्पादन गर्ने जडीबुटी कारखानामा आगजनी गरेर करोडौँको क्षति पुर्‍याइएको छ, हजारौँ लिटर फ्युल रहेको सिनामंगल स्थित आयल निगमको हवाई डिपोमा आगजनी गर्ने दुष्प्रयत्न गरिएको छ, भाटभटेनी सुपर स्टोरमा प्रवेश गरी लुटपाट र तोडफोड गरेर करोडौँको क्षति गरिएको छ, व्यक्तिका निजी घर र पसलहरूमा आगजनी गरिएको छ, सरकारी र निजी सवारी साधनहरू जलाउने काम भएको छ । राजनीतिक दलका नेताहरूको घरमा ढुङ्गा मुढा गर्ने काम गरिएको छ । यस्तो अराजक र आपराधिक दृश्य सभ्य समाजका लागि स्वीकार्य हुँदैनन्’, विज्ञप्तिमा लेखिएको छ ।