खानेतेलको मूल्य बढ्यो

१९, चैत काठमाडौं । पछिल्लो चार महिनाको बिचमा खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको मूल्य बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँ बढेको छ ।

गएको पुसमा प्रतिलिटर ३७० रुपियाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपियाँ बढेर प्रतिलिटरको ४१० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको सङ्घले जनाएको छ । सङ्घका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपियाँमा पाइएकोमा १५ रुपियाँ बढेर प्रतिलिटर ३२५ रुपियाँमा कारोबार भएको छ ।

सङ्घका महासचिव अमुलकाजी तुलाधरले नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको बताए । उद्योगीहरूले भने भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन् ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लो समयमा नेपालबाट खानेतेलको भारत निर्यात बढेसँगै नेपालमा तेलको मूल्य बढेको बताए । उद्योगीले भारत खानेतेल निर्यात भन्सार छुट र अग्रिम भुक्तानी हुने भएकाले निर्यात बढाएकाले यसको असर नेपाली उपभोक्तालाई परेको उनको भनाइ छ । भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल भारत निर्यात गरेको छ ।