रवि लामिछानेलाई भैरहवा ल्याइयो

२३, चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।

शुक्रबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा ल्याएको हो । यती एयरलाइन्सको विमानमार्फत बिहान ९: १२ बजे लामिछानेलाई गौतमबुद्ध विमानस्थलमा ल्याइपुर्‍याइएको हो ।

अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लिइएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका थिए ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।