विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौं

२६, चैत काठमाडौं । आज (मंगलबार) काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।

काठमाडौँको एक्यूआई २६२ रहेको छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २:५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७।५ गुणा बढी रहेको छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।