वामपन्थी एकता असम्भव छैन : ‘प्रचण्ड’

२६, चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, बहस, विवाद र संघर्षबाट नै कम्युनिष्ट आन्दोलनको विकास हुँदै आएको बताएका छन् ।

प्रगतिशील लेखक संघको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै विगतमा एमालेसँग पार्टी एकता गरेर बनाएको नेकपाको एकता जोगाउन नसकेको स्मरण गरेका छन् ।

उनले भने, ‘हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता गरेको थियौँ। दुई तिहाइको नजिक पार्टी पुग्दा पनि हामीले सरकारबाट सबैले प्रशंसा गर्ने, इतिहासमा नाम रहने काम गर्न पनि सकेनौँ। र पार्टीको एकतालाई बचाउन पनि सकेनौँ । हामीले त्यसबाट शिक्षा लिनुको विकल्प छैन ।

हामीले वामपन्थी एकता र कम्युनिष्ट एकताको लागि प्रयास निरन्तर राख्छौँ ।’ उनले वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए। अहिले पनि वामपन्थीहरूको दुई तिहाइ बहुमत रहेको सुनाए।