
सीता पौडेल (अर्चना)२८ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेलाको तयारी पुरा भएको छ ।यस अवसरमा बालाजु बाइसधारा परिसर सरसफाई,रंगरोगन र सजावट गरि चिटिक्क पारिएको छ ।
बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले आज बिहिबार बाइसधारा परिसरमा पत्रकार सम्मेलन गरेर पर्सि ३० गते शनिबार,चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा मेला व्यवस्थापनको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाश बलामीले काठमाडौं महानगरपालिका वडा नं १६ को बालाजुमा रहेको बाइसधारा धार्मिक,सांस्कृतिक,पर्यटकीय एवम् ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको बताए। उनले बालाजु बाइसधारालाई नेवार समुदायले ल्हुती पुन्ही मेलाका रुपमा मान्दै आएको पनि उल्लेख गरे ।

वि.सं. १८१२ तिर (नेपाल संवत् ८७५ ) मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुंगेधारा स्थापना गरेको र १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन गएको उनले बताए । साथै उनले बालाजु बाइसधार (ल्हुती पुन्ही) मेलाको अवसरमा लाग्ने ५ दिने खट जात्राको बारेमा पनि स्पष्ट पारे ।
उनका अनुसार यो वर्षको खट जात्रामा लौरी विनायक गणेश (पुरानो गुहेश्वरी),श्वेत विनायक गणेश (बालाजु),लोलाङको जीतपुर गणेश र बज्रयोगिनी देवीको खट गरि जम्मा ४ वटा खटको संयुक्त जात्रा गरिदैं छ ।सो खट जात्रालाई यस क्षेत्रको सबैभन्दा ठूलो जात्राको रुपमा लिइने आयोजकको दाबी छ ।
वि.सं. २०७९ सम्म महानगरपालिकाबाट मेलाको व्यवस्थापन हुँदै आएकोमा २०८० देखि भने मेलाको व्यवस्थापनको जिम्मा स्थानीयले नै पाएका छन् र यसको व्यवस्थापनमा लाग्ने खर्च मध्येमा १० लाख रुपयाँ बालाजुबाइसधार मेलाको लागि र ५ लाख जात्राको लागि भनेर १५ लाख रुपयै महानगरपालिकाले बजेट विनियोजन गरिदिएको पनि संयोजक बलामीले पत्रकार सम्मेलनमा जानकारी दिए। 
सम्मेलनमा कामपा १६ की वडा अध्यक्ष रोजीना श्रेष्ठले देशभरबाट मेला अवलोकन गर्न आउन सबैलाई आग्रह गर्दै वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
धार्मिक किंवदन्ती अनुसार यस दिनमा बाइसधारामा स्नान गर्नाले शरीरमा भएको रोगव्याधी हराउने तथा परिवारमा सुख शान्ति कायम हुने जनविश्वास रहेको पाइन्छ ।
बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेका कारण सो मेलालाई देशका सबै ठाउँबाट महत्वका साथ हेर्ने गरिएको छ ।
यस स्थानमा प्याथा अजिमा (सितलामाई) मन्दिर र बाल बुढानीलकण्ठ नारायणको मन्दिर पनि छन् । उक्त ठाउँको सितलामाईको दर्शन गर्दा देशमा विफर रोगको महामारी हटेको भन्ने धार्मिक किंवदन्ती पनि रहेको पाइन्छ ।साथै बाइसधारामा स्नान गरेर जामाचोमा गएर मेला भर्ने प्रचलन छ ।
जामाचोबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिने हुँदा पनि सो ठाउँको मेला अवलोकन गर्न मानिसहरु लालायीत हुने गरेको पाइन्छ ।
यस दिन यस भेगका तामाङ समुदायले पनि स्वयम्भूमा पुगेर दिवङ्गत आफन्तजनको नाममा बत्ती बाल्ने र लामा गुरुबाट पूजापाठ गराउने प्रचलन रहेको छ ।यसलाई तेमाल जात्रा वा बौद्ध जात्रासमेत भन्ने गरिन्छ ।
चैत्र शुक्ल पूर्णिमाकै दिन मनाइने बौद्ध तिमाल जात्रामा अघिल्लो दिन बौद्धमा बत्ती बाल्ने र रातभर जाग्राम बसेपछि भोलिपल्ट नागार्जुन डाँडा परिक्रमा गर्दै बालाजुमा नुहाउने र पुनः स्वयम्भू पुगेर पितृ उद्धारका लागि बत्ती बालेपछि तिमाल जात्रा समापन हुने तमाङ संस्कृतिका जानकारहरु बताउँछन् ।
यस दिन मन्नादी देवीको जन्मदिन भएकाले विशेषगरि महिलाहरुले बाइसधारा स्नान गरि त्यहाँका देवीको पूजाअर्चना गरेमा बढी फलिफाप हुने जनविश्वासका साथ पनि त्यस दिन महिला श्रद्धालुभक्तजनहरुको झनै बढी सहभागीता रहने गरेको छ ।
हिन्दु र बौद्ध धर्मालम्बीहरुका मठ,मन्दिर,चैत्य र गुम्बा रहेका कारण पनि बालाजु बाइसधारा धार्मिक सहिष्णुताको दृष्टिकोणले एक सुन्दर नमुना मानिन्छ।यसर्थ यो दुबै धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दु हो,भने सबै धर्मालम्बीहरुले सुस्ताउने ठाउँ भएका कारण सबै नेपालीहरुको साझा थलो हो ।
यसर्थ यसको संरक्षण,विकास र प्रवद्र्धन गर्नु हामी सबै नेपालीहरुको दायित्व हो भने स्थानीय सरोकारवालाहरुको जिम्मेवारी र कर्तव्य पनि हो । 
