लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

३१, चैत काठमाडों । धार्मिक तथा सांस्कृतिक सम्पदा स्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ स्थित बुद्ध जन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।

बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो । यस मेलाले श्रद्धा, सांस्कृतिक विविधता र आध्यात्मिक ऊर्जाको संगमका रूपमा काम गर्ने गरेको बौद्ध भिक्षु विवेकानन्द पाण्डेले बताए ।

इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम बुद्धको जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय हिन्दु र बौद्ध धर्मावलम्बी विशेष पूजा, ध्यान र दान–धर्मका कार्यमा समर्पित देखिन्छन् ।