यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

३, वैशाख काठमाडौं । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस ९डिएलएस मेथोड० का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।

जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ ।

जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाउनुभयो । बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६।२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाएको हो ।