आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

४, वैशाख काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

उक्त प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।