
८, वैशाख काठमाडौं । निजामती सेवामा रहेका कर्मचारीहरूले दोहोरो सुविधा लिन नपाउने भएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको संघीय निजामती विधेयकको प्रतिवेदनमाथिको छलफलका क्रममा दोहोरो सुविधा लिन नपाउने गरी व्यवस्था गरिने सभापति रामहरि खतिवडाले जानकारी दिए ।
निवृत्तिभरण, अन्य भत्ता वा राजनीतिक नियुक्ति पाएको पदको तलबमध्ये एक मात्र लिन पाउने र दोहोरो सुविधा लिइएको पाइए सरकारी बाँकी सरह असुलउपर गरिने व्यवस्था गरिने उनले बताए । त्यस्तै निवृत्तिभरण पाएको व्यक्ति भ्रष्टाचार, सरकारी किर्ते, राज्यविरुद्धको अपराध लगायतमा संलग्न देखिए निवृत्तिभरण दिने पक्षमा समिति नरहेको सभापति खतिवडाले उल्लेख गरे ।
त्यसअघि बैठकमा एमाले सांसद रघुजी पन्तले भ्रष्टाचारमा मुछिएकाहरूलाई पनि निवृत्तिभरण दिनुपर्नेमा उपसमितिमा कुनै सहमति नभएको उल्लेख गरे । उनले कसैलाई अन्याय नपर्ने गरी निजामती कर्मचारीलाई सेवा दिनुपर्नेमा मात्रै जोड दिएको उल्लेख गरे ।
