‘शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्’ : प्रधानमन्त्री ओली

८, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव मागहरू सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरेका हुन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’प्रधानमन्त्री ओलीले शिक्षकहरूले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको जिकिर गरे । ‘सरकार उहाँहरूका मागप्रति नेगेटिभ हुने कुरै छैन ।

सम्भव मागहरू सबै पूरा गर्छ,’ प्रधानमन्त्री ओलीले भने । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन् । उनीहरूको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् । प्रधानमन्त्री ओलीले यो आन्दोलनबाट फाइदा नभएको बताए ।