
१६, वैशाख काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएको थियो ।
सांसद पाण्डेले सांसदमा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए । शिक्षकहरू लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरूका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहनुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सांसदमा दर्ता भएको थियो ।
उक्त प्रस्तावमाथि आजै सांसदमा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे । शिक्षकहरूसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले बताए ।
“सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरूसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ”, आज साँझसम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उल्लेख गर्दै उनले भने । सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरे ।
