
१६, वैशाख काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।
सांसद पाण्डेले सांसदमा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए। शिक्षकहरू लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरूका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहनुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सांसदमा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै सांसदमा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी एमाले का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे। शिक्षकहरूसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले बताए । “सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरूसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ”, आज साँझसम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उल्लेख गर्दै उनले भने ।
