श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

१८, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।

एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रम संसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए ।

“श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पुर्‍याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र ‘डिजिटल’ अर्थतन्त्रको निर्माण, प्रविधिको प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य हासिल गर्न र सबै नेपालीलाई सरल तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका हुने बताए ।