प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल

२०, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सफलता प्राप्त होस् भन्ने विश्वास व्यक्त गरे ।

उनको सन्देशमा भनिएको छ, “निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ ।”

प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुने र यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत उल्लेख गर्दै राष्ट्रपपित पौडेलले समग्र समाजको लोकतान्त्रीकरणको अभियानको प्रेस स्वतन्त्रता महत्त्वपूर्ण पक्ष भएको बताए ।