
२१, वैशाख काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको छलफल अन्तिम चरणमा पुगेको छ । समितिले एकसरो छलफल सकेपछि विवादित विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन गत चैत ८ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
अहिले हरेक दिन दिनभरजसो उपसमितिले छलफल गरिरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाका अनुसार उपसमितिले अधिकांश दफामा छलफल गरिसकेको छ । विधेयकमा १६३ वटा दफा छन् । उपसमितिलाई ३५ दिनको समय दिइएको छ तर उपसमितिले चैत १८ गतेदेखि छलफल सुरु गरेकाले सोही दिनदेखि मात्रै समयावधि गणना हुने छ ।
सोही अनुसार प्रतिवेदन बुझाउन लागिएको उपसमितिले जनाएको छ । सरकारले पनि चालु अधिवेशनबाट नै विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकलाई पनि सरकारले यही आश्वासन दिएर विद्यालय फिर्ता गराएको थियो ।
असार १५ गतेभित्रमा उक्त ऐन जारी गरिसक्ने प्रतिबद्धता सरकारले शिक्षकसमक्ष जनाएको थियो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा समेत विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोेधन र एकीकरण गरी बन्ने भनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिने उल्लेख गरिएको छ ।
