नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

२५, वैशाख काठमाडौं । भारत–पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ ।नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

धनुषाको जटही सीमा क्षेत्रमा खटिनुभएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबिचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।” विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उहाँको भनाइ छ ।

स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । सिमाना आसपासका बजार पनि प्रभावित भएको छ ।