
२५, वैशाख काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नं। १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ ।
गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अचानक चिप्लिन गई गत शुक्रबार दिउँसोबाट जमिनमा भासिएपछि बेपत्ता भएको हो । दलदलमा भासिएर बेपत्ता भएको उक्त गाडी छैटौँ दिन हुँदासमेत फेला परेको छैन ।
उता जमिनभित्रै हराएको गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली बुधबार दिउँसो काठमाडौँ फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। भूगर्भविद् नारायण अधिकारीसहितको टोली आफूहरू नै असुरक्षित भएको भन्दै फर्किएको हो ।
भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको वस्तु प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै उहाँले प्रारम्भिक अध्ययन भएको र अझै गाडी कति तल र कहाँ छ भन्ने यकिन भइनसकेको बताए । “गाडी कति गहिराइमा छ भन्ने प्रारम्भिक रूपमा थाहा भयो तर पुष्टि भइसकेको छैन,” उनले भने, “अध्ययन भएको छ, यसका आधारमा के नतिजा देखिन्छ थाहा छैन, यसको वैज्ञानिक उत्तरका लागि थप अध्ययन आवश्यक छ ।” उनले अहिले अध्ययन रोकिने बताउँदै भन्नुभयो, “हाम्रो सुरक्षाका लागि पनि अध्ययन रोकिन्छ ।” उनले अहिलेसम्म भएका अध्ययनको विश्लेषण गरेर अगाडि बढ्ने भन्दै यस क्षेत्रमा पानीका मूल तीन स्थानबाट आएको पाइएको बताए ।
भूगर्भविद् अधिकारीसहितको टोलीले मङ्गलबार बिहानबाट अध्ययन थालेको थियो । अध्ययन टोलीले प्रारम्भिक कार्य पूरा गरी काठमाडौँ फर्केर पहिलो चरणको अध्ययनको विश्लेषणपछि दोस्रो चरणको कार्य हुने जनाइएको छ । टोलीले मङ्गलबार झन्डै १० घण्टा अध्ययन गरेको थियो ।
