सुरुभयो सगरमाथा आरोहण, ४२१ जनालाई अनुमति

२७, वैशाख काठमाडौं । सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने ।

एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।

सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक लीलाधर अवस्थीले भने, ‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन् ।’ मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।