जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

१० असोज,काठमाडौं ।जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् ।

उनले जापानको एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आफू जापानको स्थानी बसोबासी रहेको र त्यहाँ आफ्नै घर रहेको स्वीकार गरेका छन् । उनले २०१८ मै जापानको स्थायी बसोबास अनुमति पीआर प्राप्त गरेका छन् ।

थापाले अन्तर्वार्तामा भनेका छन्, ‘२०१८ मा स्थायी बसोबास अनुमति प्राप्त गरेपछि मैले जापानमा बस्ने निर्णय गरेँ । मेरो विवाह नेपाली महिलासँग भएको छ र हाम्रा दुई छोराछोरी जापानमा जन्मेका छन् ।

उनीहरूले यहीँ शिक्षा हासिल गरेका छन् । मेरी श्रीमतीले जापानी भाषा पढेकी थिइन् र एसिया, मध्य र दक्षिण अमेरिका, अफ्रिकाका अनुसन्धानकर्ताहरूसँग जापानी विद्यालयमा गरिबी न्यूनीकरण र शान्ति निर्माणको अध्ययन गरेकी थिइन् । हाल उनी जापानमा नेपाली भाषा विद्यालय चलाउँछिन् ।’

उनले आफ्ना छोराछोरीहरू जापानमै जन्मेका र हुर्केका कारण जापानमै बसुन् र उनीहरूलाई आफ्ना आमाबाबुको परिस्थितिका कारण बारम्बार आफ्नो बसोबासको ठाउँ परिवर्तन गर्नुको सट्टा आफ्नै समुदायको सदस्यको रूपमा हुर्काइयोस् भनेर आफूले कानागावा प्रिफेक्चरमा घर किनेको पनि प्रस्ट पारेका छन् ।

‘म अर्को पुस्ताको जीवनको कदर गर्न चाहन्छु,’ अन्तर्वार्तामा उनले भनेका छन् ।परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते राजदूतका लागि विज्ञापन प्रकाशन गरेको थियो । राजदूतका लागि आवश्यक योग्यतामा भनिएको छ, ‘कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति ९पीआर० वा अध्यागमन सुविधा नलिएको हुनुपर्नेछ ।’तर जापानका लागि राजदूतमा सिफारिस भएका थापाले अन्तर्वार्तामा आफैँले जापानमा घर किनेको, छोराछोरी, श्रीमती सबै उतै बस्ने गरेको भनेका छन् ।

सो अन्तर्वार्ता अनुसार थापा ६ वर्षकै उमेरदेखि जापानीहरूको संगतमा लागेका हुन् । एसएलसी सकेर उनी जापानी भाषा सिक्नतिर लागेका थिए । जापानी भाषा सिकेर उनी नेपालमै धेरै समय जापानसँग सम्बन्धित विभिन्न संघ संस्थामा आवद्ध भएर काम गरे । सन् २००० मा एउटा छात्रवृत्रिमा पढ्नका लागि जापान गएपछि उनी त्यतै बसेको अन्तर्वार्तामा उल्लेख छ ।

नेपाल–जापानबिच भएको उच्चस्तरीय थुप्रै भ्रमणको क्रममा उनले दोभाषेको काम गरेको भनिएको छ । उनी अहिले पनि त्यो काम गर्छन् ।

परराष्ट्र मन्त्रालयले गराएको जानकारी अनुसार नेपाल–जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समय समर्पित गरेका उनले योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन् ।

उनले सन् २००९ देखि कानागावा इन्टरनेशनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामला विज्ञका रूपमा काम गर्दै आएका छन् ।

सन् २००५ देखि उनले उच्चस्तरीय नेपाल–जापान द्विपक्षीय कार्यक्रमहरूको संयोजकका रूपमा दुवै देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूको भ्रमण तथा आदानप्रदानमा सहजीकरण गर्दै आएका छन् ।

थापाले सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापानको औपचारिक भ्रमणका क्रममा आयोजित नेपाल–जापान व्यापार संवादको आयोजना गरेका थिए । उनले अन्तर्राष्ट्रिय सहकार्य र आप्रवासन सुशासनका पहलहरूमा जाइका, युनिसेफ र जापानी स्थानीय सरकारहरूसँग नजिक रहेर काम गरेका छन् ।

उनी नेपालस्थित जापानी उद्योग वाणिज्य संघका सल्लाहकार, गैरआवासीय नेपाली संघ ९जापान० का पूर्व महासचिव र जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

थापाले सुकुबा, ओयामा गाकुइन र निहोन युनिभर्सिटीलगायतका जापानी विश्वविद्यालयहरूमा सह–प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन् । जापानी भाषामा निपुण उनले नेपाल–जापान सम्बन्ध र तुलनात्मक सार्वजनिक प्रशासनका विषयमा व्यापक लेखन गरेका छन् ।

स्रोत ःरातोपाटी