
८ असोज, काठमाडौं । बेलायती सार्वजनिक प्रसारक बीबीसीले आगामी दुई वर्षमा २ हजार कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ।
आर्थिक दबाब भएको भन्दै बीबीसीले खर्च घटाउन पुनर्संरचना अभियान अघि बढाएको जनाएको छ। विभिन्न विभागका धेरै कर्मचारीसहित केही टेलिभिजन कार्यक्रमसमेत बन्द गर्ने र नयाँ सामग्री निर्माणमा हुने खर्च कटौती गर्ने तयारी गरेको पनि जनाइएको छ।
दुई वर्षभित्र करिब ५० करोड पाउन्ड बचत गर्ने उसको लक्ष्य छ। समग्र कटौतीमध्ये करिब ५५० पद कटौतीले बीबीसी न्युज, टेलिभिजन र रेडियो सञ्चालनमा प्रत्यक्ष असर पार्ने बताइएको छ। यसबाट मात्रै करिब १६ करोड पाउन्ड बचत हुने अपेक्षा छ।
कर्मचारी कटौतीका लागि बीबीसीले स्वैच्छिक अवकाश प्रक्रिया समेत अघि सारेको उल्लेख गरेको छ।
प्रेस एसोसिएसनले प्राप्त गरेको आन्तरिक मेमोअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म कन्टेन्ट डिभिजनबाट मात्रै करिब १०० पद कटौती हुन सक्ने अनुमान छ।
बीबीसीका महानिर्देशक म्याट ब्रिटिनले गत जुनमा कर्मचारीलाई पठाएको इमेलमा ठूलो रकम बचत गर्न कठिन निर्णय लिनुपर्ने बताएका थिए। उनले सबै विभागले महत्वपूर्ण बचत गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
बीबीसीलाई थप सरल र छिटो बनाउने योजना अन्तर्गत वरिष्ठ नेतृत्व तहका पदमा पनि कम्तीमा १० प्रतिशत कटौती गरिने महानिर्देशक ब्रिटिनले बताएका छन्।
