
१, जेठ बाँके । पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसीयाली छाएको छ ।
चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहेका कोहलपुर नगरपालिका-१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलो पटक धेरै खुसी लागेको बताए । उनले भने, “सरकारले लालपुर्जा दिएर हाम्रो आत्मलाई खुसी बनाएको छ, अब मर्दा पनि सुखले श्वास जाने भयो ।”
कोहलपुर नगरपालिका-१ का १२० भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रतिपरिवार ३४० वर्ग मिटर अर्थात् करिब एक कट्ठा जमिनको जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
स्थानीय लक्ष्मीबहादुर महतले पहिले भूमिहीन सुकुम्वासीका रूपमा रहेको आफ्नो पहिचान अब फेरिएको भन्दै खुसी व्यक्त गरे । “लामो समयसम्म भूमिहीन अवस्थामा थियौँ । अब भने जग्गा धनी भएका छौँ । हाम्रो लागि यो निकै खुसीको कुरा हो,” उनले भने, “सरकारले गरिबको पक्षमा काम गरेको अनुभूति भएको छ, सरकारले हाम्रो वर्षौँदेखिको माग पूरा गरेको छ । निकै हर्षित छौँ ।”
पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएको कोहलपुर नगरपालिका-१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताए । भूमिहीन वडावासीलाई लालपुर्जा वितरण गर्न पाउँदा आफूलाई समेत खुसी लागेको भन्दै उनले वडाका सबै भूमिहीन सुकुम्वासीलाई क्रमशः लालपुर्जा वितरण गर्ने गरी पहल भएको उल्लेख गरे ।
