
२, जेठ काठमाडौं । प्रादेशिक अस्पताल जलेश्वरमा निःशुल्क रूपमा वितरण हुने औषधिको चरम अभाव भएको छ । सरकारले अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि प्रादेशिक अस्पताल जलेश्वरको निःशुल्क औषधि वितरण कक्षमा १५ देखि २० प्रकारका औषधि मात्र उपलब्ध छन्।
औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा। विकास साहले बताएका छन् । निःशुल्क वितरण गर्ने औषधि बिमा सेवाबाट पनि नपाउने, अस्पतालको औषधि वितरण कक्षमा पनि नहुनाले समस्या भएको जलेश्वर एक सामाजिक अभियन्ता जितेन्द्र पासवाले गुनासो गरे । बिमाबाट पाइने केही औषधि भदौ १ देखि सरकारले निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएका पासवानको भनाइ छ ।
अस्पताल प्रमुख साहले मधेस प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमा औषधि नपठाएकाले अभाव भएको बताए । “सरकारले निःशुल्क वितरण गर्ने भनेका औषधि हामीले टेन्डर गरेर खरिद गर्न पाइँदैन । प्रदेश सरकारले समयमै औषधि नपठाउँदा समस्या भएको हो”, उनले भने।
दश नगरपालिका र पाँच गाउँपालिका भएको यस अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेको बताउँदै अस्पताल प्रमुख डा। साहले दुई महिनादेखि औषधि चरम अभाव भएको गुनासो गर्दै समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताए ।
