पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

२, जेठ काठमाडौं । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ ।

नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ । कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरलानाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन् ।

अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिए पनि त्यसो हुन नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्यहर्वु गुरूङको बुझाइ छ । उनका अनुसार नाकामा सुरक्षा व्यवस्था पनि राम्रो छैन । नाका नजिकै दक्षिणतर्फ नेपालले टिनले छाएको चारकोठे भवनबाहेकका पूर्वाधार नहुँदा मानिस त्यहाँ रोकिने अवस्था छैन ।

यतिसम्मकि पानी पर्दा ओत लाग्ने ठाउँ पनि छैन ।“लोमान्थाङबाट नाका २१ किलोमिटरको दूरीमा पर्छ, नाका पुग्न १३ किलोमिटर अगाडि रहेको न्हेछुङमा प्रहरी पोष्ट ९यस क्षेत्रमा अन्तिम पोष्ट० भए पनि नाकामा प्रहरीको उपस्थिति कमजोर छ”, उनले भने ।

नाकामा पूर्वाधार नभएका र तीव्रगतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिकिराख्न गाह्रो हुने गरेको छ । त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गर्दै आएका छन् । कोरलानाकामा चीनतर्फ भने सुविधासम्पन्न अध्यागमन कार्यालय, भन्सार र सुरक्षाकर्मी बस्ने व्यवस्था छ ।