सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

३, जेठ काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । एभरेष्ट एलाइन्स नेपालद्वारा यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना हुन लागेको हो । उक्त सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिनेछन् ।

एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १७७ आरोहीले नाम दर्ता गराइसकेको जानकारी दिए । उनले भने, “सम्मेलनमा भाग लिनका लागि विभिन्न देशका आरोहीहरूको उत्साहप्रद उपस्थिति देखिएको छ । ” सम्मेलनमा ५०० आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीजरल्याण्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरू सहभागिता जनाउनेछन् ।

उनले भने, “सगरमाथा आरोहणका लागि पैसामात्र नभई आँट, साहस र हिक्मत चाहिन्छ । यो जोकोहीले पुरा गर्न सक्दैनन् ।” सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।