सगरमाथा संवादमा इलामे चियाको स्वाद

४, जेठ काठमाडौं । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि ‘रिट्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो ।

मन्त्रालयले प्रायः हरेक वर्ष गर्ने यो कार्यक्रम यसपटक पूर्वी इलामको श्रीअन्तुमा आयोजना गरिएको थियो । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि आयोजित सो रिट्रिटमा इलामका चिया बगान र अन्तु पुगेका राजदूतहरूले अन्तु डाँडाबाट यस वर्षको पहिलो दिनको सूर्योदय पनि बडो चाखपूर्वक हेरेका थिए ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा त्यहाँ पुगेका राजदूतहरूले विभिन्न जातजातिका वेशभूषामा सजिने, चियाबगानमा तस्बिर खिचाउने तथा कतिपयले त कन्यामका विभिन्न स्थानमा घोडचडीमा समेत रमाएका थिए ।

त्यहाँ बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनलगायत १५ देशका राजदूत एवं मिसन प्रतिनिधि र विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिहरू पनि थिए । परराष्ट्र मन्त्रालयद्वारा आयोजित यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिकाले सहयोग पनि गरेका थिए ।