
६, जेठ काठमाडौं । नारायणगढ-बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ-बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ ।
पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उनले बताए । यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।
उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ ।
दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ ।
