राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

९, जेठ काठमाडौं । नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए ।

उनले भने- ‘नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि हालका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी हुँदैन । पहिलो अभ्यासका रुपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुनेछ ।

जसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिनेछ । प्रदर्शनीमा करिब ६०० कलाकारका ६५० हाराहारीका कलाकृतिहरु समावेश गरिनेछ ।’

राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो । त्यहाँ कलाकारका एक हजार कलाकृति समावेश थिए । तीमध्ये छनोट भएका ५०० कलाकृति र आमन्त्रित कलाकारका गरी ६०० हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताए ।