नागढुंगा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

१०, जेठ काठमाडौं । आगामी पुसपछि नागढुंगा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । पहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो ।

कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुंगा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले बताए ।

“अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्यमा त्यसलाई संयोजना सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,” इञ्जिनियर कोइरालाले भने, “अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ ।

त्यसमा पनि दुई महिना जति लाग्न सक्छ ।” उनका अनुसार आयोजनाले सुरूङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरूङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्जिनको निरन्तर प्रवाहजस्ता सुरूङमार्गका अत्यावश्यक सेवा ९टनेल फ्यासिसिटी० उपलब्ध गराउने कामलाई अन्तिम रूप दिइरहेको छ ।

पूर्वी मुखमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाको दह चोकबाट सुरु हुने कूल २ दशमलव ७ किलोमिटर लामो सुरूङमार्ग पश्चिमतर्फ धादिङको धुनी बेँसी नगरपालिकाको सिस्ने खोलामा टुंगिनेछ । त्यसैको समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरूङसमेत खनिएको छ ।