
१९, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताए । “लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पुर्याउनुपर्ने थियो, त्यस हिसाबले पुर्याउन सकेका छैनौँ,” उनले भने ।
महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा गर्न थालिएको उल्लेख गर्दै लोकतन्त्रले केही दिएन, बरु योभन्दा राजतन्त्र नै ठिक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको बताए । उनले संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्ण रूपमा लागू गर्न नसकिने उल्लेख गर्दै अहिले दुई दल मिलेर सरकार चलाइरहँदा एकल सरकार चलाएजस्तो सहज नभएको बताए ।
