१८ लाख रुपियाँसहित दुईजना पक्राउ

३०, जेठ काठमाडौं । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपियाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

जेठ ३० गते भारतबाट दुईवटा मोटरसाइकलमार्फत नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचको क्रममा रकमसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये वीरगञ्ज–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारीको साथबाट बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा १३ लाख रुपियाँ र बाराको प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्ताको साथबाट ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा ५ लाख रुपियाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद रकममा १ हजार दरका १ हजार ८२ थान र पाँच सय दरका १ हजार ४३६ थान नोट रहेका छन्। ती व्यक्तिहरूले उक्त रकम कुन प्रयोजनका लागि ल्याइएको भन्ने खुलाउन सकेका छैनन् । पक्राउ परेका दुवै जनालाई रकम तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।