
३१, जेठ काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख भाषाको संरक्षण संवर्धनमा राज्य संवेदनशील हुनुपर्ने बताउँदै मातृभाषा बलियो भए राष्ट्र बलियो हुने बताएका छन् ।
नेवा पत्रकार राष्ट्रिय दबुले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनको शुव्रबार उद्घाटन गर्दै उनले मातृभाषा संरक्षणका लागि राज्यले आवश्यक नीति बनाउनुपर्ने बताएका हुन् ।
नेपालको पछिल्लो जनगणना अनुसार १२४ भन्दा बढी भाषा रहेको र तीमध्ये ६२ भाषा प्रचारमा बढी आएको प्रसङ्ग उल्लेख गर्दै सभामुख घिमिरेले मातृभाषा पत्रकारितालाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिए । देशका विभिन्न मातृभाषाको संरक्षण, संवर्धन एवं प्रचारप्रसारमा गोरखापत्र, राष्ट्रिय समाचार समिति र सार्वजनिक प्रसारण संस्थाले काम गर्दै आएकोमा उहाँले प्रशंसा गरे ।
पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषामा पत्रकारिता आरम्भ गर्नुभएको १०१ औँ वार्षिकीको स्मरणको दिनमा गरिएको सम्मेलनले विशेष महत्व बोकेको बताउँदै सभामुख घिमिरेले मातृभाषा पत्रकारिताको जग बसाउने कार्य धर्माचार्यले गर्नुभएको उल्लेख गरे।
मातृभाषा पत्रकारितामा विशेष योगदान गरेबापत सभामुख घिमिरेले गोरखापत्र दैनिकलाई सम्मान गरेका थिए। गोरखापत्र दैनिकले नयाँ नेपाल शीर्षक अन्तर्गत प्रकाशित बहुभाषिक पृष्ठमा विभिन्न ४५ मातृभाषामा समाचार सामग्री प्रकाशन गर्दै आइरहेको छ । २०६४ असोज १ गतेदेखि गोरखापत्रमा बहुभाषिक पृष्ठ प्रकाशन प्रारम्भ भएको छ ।
