
३१, जेठ काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको छ ।
यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म निस्शुल्क सञ्चालन हुनेछ । कामपा स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागूपदार्थको कुलतमा फसेकालाई लक्षित गरी निस्शुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
कामपा-११ का वडाध्यक्ष हीरालाल तुण्डकारले लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर उपचार गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउन कामपाले परीक्षण सुरु गरेको जानकारी दिए। पाटन अस्पतालका मनोचिकित्सक डा। अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक तथा निद्रा नलाग्ने, दिशा, पिसाब गरिरहनेलगायत अस्वाभाविक परिवर्तन हुनु मानसिक समस्याका लक्षण रहेका बताए ।
मानसिक समस्यालाई समयमा पहिचान गरेर नियन्त्रण बाहिर पुग्नुअघि समाधानका उपाय खोज्न सकिने उनको भनाइ छ ।“सामान्यभन्दा बढी नकारात्मक वा पीडादायक सोचाइ आउनु, दुखित हुनु, चिन्तित हुनु, डराउनु, निराश हुनु, असहज शारीरिक लक्षण देखिनु, अस्वाभाविक र असामान्य व्यवहार देखिनु, दैनिक काममा असहज हुनुलगायत व्यवहारमा परिवर्तन देखिएमा मानसिक समस्या हुनसक्छ”, डा। पराजुलीले भनिन् ।
यस्ता समस्या सकेसम्म अरूलाई नसुनाउने भएकाले रोग बढ्दै जाने भन्दै पाटन अस्पतालका चिकित्सा मनोविद् अनुपराज भण्डारीले ठूला अस्पतालमा मानसिक समस्याका बिरामीको सङ्ख्या बढ्दै गइरहेको बताए । वडास्तरमा हुने विशेषज्ञ परीक्षणले अस्पतालमा बिरामीको चाप घट्ने र सेवाको गुणस्तर बढ्ने उनको भनाइ छ ।
