
१, असार काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
लोक सेवा आयोगको आइतबार आयोजित हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्मअनुरुप काम गरेमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्न सकिने बताए ।
उनले भने, ‘अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ । कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन हुँदैन।’
