यी हुन् मन्त्रिपरिषद्का निर्णय

११ असार,काठमाडौं ।सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ।

असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आज बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनुभएको हो।

बैठकबाट भिजिट भिसा प्रकरणका सम्बन्धमा छानबिन गर्न नेपाल सरकारका पूर्वमुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी सात सदस्यीय उच्चस्तरीय अध्ययन एवं छानबिन समिति,गठन गरिएको पनि उहाँले बताउनुभयो।

सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश,२०८२ स्वीकृत गर्ने,असार १५देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा हुने अनलकिङ वाटर एन्ड स्यानिटेशन फाइनान्सिङ थ्रु द हेड्स अफ स्टेट इनिसिएटिभ विषयक कार्यक्रममा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति प्रदान गर्नेसमेत निर्णय गरेको छ।

यस्तै असार १३ गतेदेखि २९ गतेसम्म इटालीको रोममा हुने एफएओ सम्मेलनको ४४औँ संस्करण तथा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालले गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान,कर्जा असुली न्यायाधीकरणको अध्यक्ष तथा सदस्यहरूको पारिश्रमिक र सेवा सर्त तथा कार्यसञ्चालनसम्बन्धी व्यवस्था,२०८२ स्वीकृत गर्ने, १४ गते जर्मनीको बोनमा हुने ३६औँ नेपाल डे कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री गुरुङले बताउनुभयो ।

सरकारले यही असार ९ गतेदेखि ११ गतेसम्म जनवादी गणतन्त्र चीनको ल्हासामा आयोजना भइरहेको सिस्टर सिटिज कोअपरेशन एन्ड एक्सचेन्ज मिटिङमा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान समेत गरेको छ।

बैठकले अन्तरराष्ट्रियस्तरको भलिबल,उसु र कबड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी जम्मा २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिने,नेपाल सेनाका दुई जना महासेनानीहरूको पदावधि थप गर्ने,एक जना सहायक रथीको उपरथीमा बढुवा गर्ने र दुईजना उपरथीहरूको सरुवा गर्ने लगायतका निर्णय गरेको छ।