आइएमई ग्रुपको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

१२ असार,काठमाडौं। आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा आएको छ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्नुभयो । उद्घाटनपश्चात उहाँले उक्त उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिकसमेत गर्नुभाएको थियो ।

स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए ।

मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन,निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिनु जरुरी छ । सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भन्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको र यसले देसभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँने जिकिर गर्नुभयो ।

उहाँले यसले आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि बताउनुभयो । स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको उहाँको भनाइ थियो।

करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ। यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन्।

उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेन्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्ने जनाईको छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्।

बोर्डहरू निकै लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ रहेको दाबी गरिएको छ ।