मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो,केही गर्न सकिन : कृषि मन्त्री अधिकारी

१३ असार,काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताउनु भएको छ ।

नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने जिकिर गर्नुभयो ।

किसानका समस्या समाधान गर्न नसकेकोमा मन खिन्न पार्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘मन्त्री भएर पनि केही गर्न सकिन ।मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो,नयाँ परिवर्तन गर्न ,’ तर सकिएन । 

‘यदि हामीसँग आर्थिक सीमितता,आर्थिक संकुचन थिएन भने धेरै चिज गर्थ्यौं ।’

गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टनमात्र मल आएको बताउनुभयो ।

बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको उहाँको भनाई थियो ।

उधारो दूध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको दुःखेसो पोख्दै उहाँले भन्नुभयो, ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उधारो दूध वर्षौंदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने ! ’मन्त्री अधिकारीले भन्नुभयो।

‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भएपनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन,’ उनले भने, ‘बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ ।’

‘एक चौथाइ मलले हामीले कसरी किसानलाई समयमा पुर्‍याउनसक्छौँ ? सम्भावनै छैन । तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ,’ उहाँले भन्नुभयो।

धेरै समस्याका बीचमा खुसी मानेर सबैका बीचमा उभिनुपर्ने अवस्था रहेको उहाँको भनाई छ।

छलफलमा मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरू समेत उजागर गर्नुभएको थियो ।