पूर्वराष्ट्रपति भण्डारीद्धारा औपचारिक राजनीतिमा फर्किएको घोषणा

१४ असार,काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक राजनीतिमा फर्किएको घोषणा गर्नुभएको छ ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको हो।त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको पनि उहाँले बताउनुभयो।

पार्टी सदस्यता नवीकरण गरेको छु।एमालेको एक सदस्यको रूपमा पुन जोडिएको छु,उहाँले भन्नुभयो।

पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको उहाँको भनाई छ।

पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उल्लेख गर्नुभएको छ।

मदन भण्डारीलाई सम्झँदै उहाँले भन्नुभयो—जननेता मदनले भन्ने गर्नुहुन्थ्यो—जनता भनेका भगवान हुन् ।राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन।आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु र यी भनाईलाई आदर्श मानेर आफू राजनीतिमा समर्पित बनिरहने छु।

राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्।

मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ उहँले थप्नुभयो ।