
३१ असार,काठमाडौं । नेकपा (एमाले) नेपालको प्रमुख राजनीतिक दल मध्ये एक हो ।२०४८बाट यो पार्टी संसदीय राजनीतिमा प्रमुख शक्ती बनेको हो ।
२०४७ मा माले हुँदै वि.सं.२०५४ ,२०७७ सालदेखि हालसम्ममा पार्टीभित्र विभिन्न उतारचढाव आइरहेका छन् । यस्ता उचारचढावले पार्टीलाई सकारात्मक भन्दा पनि नकरात्मकता तर्फ धकेलेको महसुस भइरहेको छ ।
यहि असार १४ गते पार्टीका जननेता मदन भण्डारीको जन्मजयन्तीको दिन पार्टीका
अध्यक्ष,वरिष्ट उपाध्यक्ष र दुइ÷दुई कार्यकालसम्म राष्ट्रपति बनीसक्नु भएकी व्यक्तिको वक्तव्यले
अब नेपालमा वामपन्थी राजनीति गर्नेहरूको भविष्य कतातिर जाँदै छ भन्ने कुरा फेरी एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।तर मजस्तो सामान्य मान्छेले चिन्ता सिवाय के नै गर्न सक्छु र !
अहिले पार्टीले नयाँ पुस्तालाई राजनीतिमा ल्याउनु पर्छ भनेर वडा,टोल र समाजमा छलफल पनि चलाइरहेको छ । पार्टीले नीतिगतरुपमा नै राजनीतिमा युवापुस्ताको सहभागिता अपरिहार्य गराए तापनि २०४० साल अघिकै नेता कार्यकर्ताको हालीमुहाली रहँदा व्यवहारमा भने लागू हुन नसकेको हो की भन्ने विषयले म र मजस्ता एमालेका शुभचिन्तकहरुलाई चिन्तित बनाएको छ ।
म अहिले ६४ वर्षको भएँ । २०४७÷०९÷०९ गतेदेखि पार्टी सदस्यता लिएको भएपनि २० वर्ष पछि मात्र केन्द्र वा पोलीटब्युरो सदस्यमा रहेर काम गर्ने अवसर बल्ल प्राप्त हुने हो भने मैले सदस्य बनाएका हजारौँ पार्टी सदस्यको हालत के होला ? अहिले यो निकै सोचनीय र गम्भीर विषय बन्दै गएको छ ।
एउटै व्यक्ति मात्रै पटक —पटक राष्ट्रपती,प्रधानमन्त्री,मन्त्री वा संसद भइरहने हो भने यहि हालतमा पार्टीको
झोला कसले र किन बोकिरहला । यो गम्भिर विषयमा अब छलफल र बहस हुनु जरुरी छ । अब पनि यसबारे सोचिएन भने पार्टीलाई मिसन ०८४ मा राष्ट्रिय निर्णायक शक्ति बनाउने कुरा केबल नारामै मात्र सिमित नहोला भन्न सकिदैन ।
एकातिर नेतृत्वको झगडाले पार्टीमा गुटबन्धी हुने र पार्टी विभाजन हुने कुराले असल कार्यकर्ताको मन दुखेको छ भने अर्कातिर पार्टी र पार्टी नेतृत्वलाई सधैं जुरुक्क उचालेर काँधमा बोक्नेहरुको मनोबल के होला ! यो जल्दोबल्दो र सोचनीय विषय बनेको छ ।
लामो समयदेखि पार्टीमा रहेर पार्टी निर्माणमा लागेका कार्यकर्ताहरुको सम्मानका लागि पनि पार्टीले आत्मबल र स्वाभिमान जोगाउने कुरामा कहिले ध्यान दिने ?
यद्यपी पार्टी निर्माण र राजनीतिक आन्दोलनमा अग्रजहरुको योगदान ठूलो छ । वर्षाैं वर्ष जेल जीवन बिताएर कष्टपूर्ण जीवन भोगेका आदरणीय नेतागण पनि हामीसँग हुनुहुन्छ । कष्टपूर्ण अवश्थामा पनि पार्टी निर्माणमा लागेका नेतृत्वबाट प्रभावित भएर हामी पनि संगठनमा आबद्ध भई योगदान गर्न थाल्यौं । तर यस प्रकारको विरासद बोकेको पार्टीमा सत्ता लोलुप्ताले प्रश्रय पाउँदै गइरहेको देखेर म र म जस्तै पुराना,इमान्दार पार्टी योद्धा र शुभचिन्तकहरुको मन भने कताकता कटक्क काट्छ र चसक्क दुख्छ ।
आफूँ भए ठीक र अरु भए बेठीक भन्दै पार्टीभित्र अन्तरघात वा गुटबन्दी भइरहेको छ ।यस्तो नहोस् भन्ने म चाहन्छु । यहि पार्टीमा लागेर हामीले पनि धेरै भोटा फटालेका छौं । पार्टीलाई अप्ठयारो पर्दा होस् वा पार्टी निर्माण गर्ने कुरामा किन नहोस् हाम्रो पनि योगदान छ ।
नयाँ सोचसँगै निकै दुरदृष्टिकासाथ पार्टी निर्माणको सपना बोकेर त्यसलाई साकार पार्न अहोरात्र खट्ने योद्धाहरुलाई समेटेर अझ उच्चतम लक्ष्यमा अघि बढ्नु पर्नेमा केही नेतृत्व वर्ग नै पार्टी विभाजन गर्ने खालका क्रियाकलापमा लागिरहनुभएको हामीले अनुभूत गरिरहेका छौं । खबरदार ! विरालो बाँधेर श्राद्ध गर्ने भन्ने कुरा यो सभ्य समाजमा शोभनीय हुँदैन ।
अब यो पनि सोच्नु पर्ने छ कि—जान्नेलाई छान्ने भन्ने नारा ल्याउने को हुन ? उनीहरूको इतिहास जगजाहेरै छ,
डोर हाजिर भरेर नगरको पैसा लुटने तथा खोक्रा नारा दिएर नगरको रकम हिनामिना गर्ने को हुन? चिन्न पर्ने छ ! साथै प्रचारबाजीमा मात्रै रमाउँदै यूटुब र फेसबुकमा रकम लगानी गर्ने तर विकास निर्माणमा कुनै ध्यान नदिइ खरबौँको रकम हिनामिना गर्ने को हुन् र तिनीहरु नै किन र कसरी सबैका हाइ हाइ भएका छन ? बुझ्न पर्ने छ । यसबारे कार्यकर्ता कहिले सजग बन्ने र पार्टी नेतृत्वले कहिले बुझ्ने ? यो गभ्भिर प्रश्न हाम्रा सामु खडा भएको छ ।
स्पष्ट कार्यदिशा तय गरेर अगाडि बढ्न किन सकिरहेका छैनौं ? पार्टी पंक्ति नै किन के कुरामा रुमलिरहेका छौं ? सोच्नु पर्नेछ । एमालेले सरकारमा नेतृत्व गरेका बेला धेरै राम्रा कामहरु पनि भएका छन् । यो हामीलाई पनि थाहा छ ।तर जति हुनपर्ने हुन त्यक्ति मात्रामा हुन नसकेको कुरा पनि स्वीकारेर अझ राम्रो गर्नु जरुरी छ ।तर नेतृत्वले जसरी राम्रो काम गरेको छ,बोली र व्यवहारगत रुपमा पनि उस्तै राम्रा्े र उत्कृष्ट पन झल्कीनु पर्ने आवश्यकता भने टड्कारो देखिन्छ ।
कम्युनिष्ट आन्दोलन,माक्सवाद र लेनिनबादसँगै जबजको मार्गदर्शन सिकाउने अग्रज नेतागणहरुले हामीलाई जनतासामु गएर यसका बारेमा खुलेर बोल्न सक्ने वातावरण तयार गरिदिन पनि म आग्रह गर्दछु । हामीले निकै गर्वका साथ हाम्रो नेतृत्व र जबजको आदर्शलाई स्पष्ट रुपमा चिन्न र भन्न सक्ने वातावरण बनाउनु जरुरी देखिएको छ ।
हामीले २०३७ सालमा पिपल्स क्याम्पसमा अध्यानरत हुँदा अनेरास्ववियू प्र.क. कमीटिको सदस्य भएपश्चात २०३८ सालको पहिलो निर्वाचनबाट क.वि. उप्रेतीलाई स्ववियू सभापती बनाइयौं । २०३९ मा सरस्वती क्याम्पसको अध्ययनसँगै लोक सेवामार्फत जलस्रोत मन्त्रालयमा कर्मचारी भएसँगै म शिक्षक संगठनको
सदस्य भएँं । २०४२ सालमा अपिसबाट घर फर्किदा शिक्षक आन्दोलनमा रत्नपार्कबाट गिरफ्तार भई १० दिन थुनामा बस्नु प–यो । थुनामूक्त भएपछि अफिस जाँदा स्पट्टिकरण सहित सरुवा
पूर्जी थमाइएको घट्ना अझै पनि मेरो मानसपटलमा ताजै छ ।
यो परिवेशमा बुबाले जागीर छोड्न आज्ञा दिएपछि मैले बाध्य भएर जागीर पनि छोडें ।त्यसपछि झनै त्यो १० दिन जेल बसाईका क्रमका भोगाईले अझै पनि दिमाग खलबलाईरहन्छ ।हामी त्यहाँ धेरै पार्टीकै बारेमा बढी सोच्थ्यौं,कुरा गथ्यौं ।
२०४३ मा राष्ट्रीय पंचायतको चुनाव सुरु भयो ।म पद्धमरत्न तुलाधरको चुनाव प्रचारमा लागें ।पद्धमरत्न सहयोग समिति सदस्य भएपछि २०४६ को जनआन्दोलनमा काभ्रेस्थलीमा जुलुस गर्ने,मसाल बोक्ने,साथीहरू गोलबन्द गर्ने काममा व्यस्त भएँ ।यही आन्दोलनको क्रममा छिमेकी गाउँ पंंचायतका मेरो आदरणीय दाई किरण शर्माले अब मालेकोसानो कमीटी बनाउनु प¥यो भन्नुभयो ।उहाँले चार सदसीय पिएजी कमिटि बनाएर अगाडी बढ्नु भयो।
नेकपा मालेको बारेमा झन बढि ज्ञान सिकाउनु भयो । मैले त्यो बेला उहाँबाट धेरै सिक्ने मौका पाएँ ।उक्त आन्दोलनपछि २०४७ सालमा काठमाडौँ ५ क्षेत्रमा विभाजन भयो ।यसमा हाम्रो क्षेत्र ४ नं. थियो । र,मलाई क्षेत्र नं. ४ को उत्तर–पश्चीम ईलाका कमिटिको अध्यक्ष पदको जिम्वेवारी दिइयो ।
यो संगठनको केन्द्रिय अध्यक्ष हाल सम्माननीय प्रधानमन्त्री समेत रहनुभएका आदरणीय क.के.पी.शर्मा ओली हुनुहुन्थ्यो । उहाँको हातबाट टिका लगाएर म अध्यक्षमा नियुक्तभएको थिएँ। सोही वर्ष पार्टीको सदस्यता समेत प्राप्त गरेको हुँ। पार्टी सदस्य हुँदै शाख कमिटी सचीव, इलाका कमिटी सचीव,जिल्ला कमिटी सदस्य एवम् प्रदेश कमिटी सदस्य हुदै हाल पार्टी महाधिवेशन प्रतीनिधी परीसद् सदस्यमाकार्यरत छु । २०४८ को संसदीय चुनावमा क्षेत्र नं ४ मा क. सहाना प्रधानको उमेदवारी दर्ता भयो । यो बेला पार्टी भुमिगत थियो । तर संयोगबस नेपाल अधीराज्यभरी सबैभन्दा बढि मत प्राप्त गरेर संसद बन्ने क.सहाना प्रधान हुनुभयो ।
२०४९ को स्थानीय निर्वाचनमा पार्टीले काभ्रेस्थली गा.वि.स.अध्यक्षको टिकट उपलब्ध गरायो ।अध्यक्ष
उपाध्यक्षसहीत ५ वडा अध्यक्षमा बहुमतले एमालेले जित्न सफल भयो ।२०५३ मा मध्यावघी चुनावमा
यस क्षेत्रमा पद्वमरत्न तुलाधर स्वतन्त्र वामपन्थी भएर चुनाव लड्नु भयो। सूर्य ध्वजाबाहक उमेदवार विजयी बनाउन
सफल भइयो । २०५४ मा पार्टी विभाजन भयो ।त्यतिबेल त्यस क्षेत्रका जनताको चाहान विपरीत उमेदवार बनाइएको थियो ।
यसैकारण पनि संघमा हालसम्म पार्टीले चुनावी हार व्यहोर्न परिरहेको छ । यो तीतो सत्य र यथार्थलाई मध्येनजर गर्दै प्रदेश र स्थानीय तह दुबै एमाले जित्ने तर संघ हार्ने कुरालाई अहिलेसम्म पनि केन्द्रले चासो दिएको छैन । यो दुःख लाग्दो कुरा छ ।यसतर्फ ध्यान जानु जरुरी छ । केन्द्रले काठमाण्डौँ ६ नं. क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ ।
सधैं भाडाका उम्मेदवार खडा गरेर जनचाहन विपरित उम्मेदवारी दिंदा सधैं हार व्यहोर्ने कुरामा अब क्षेत्र नं ६मा स्वीकार्य हुनेछैन ।यस सम्बन्धमा क्षेत्रीय कमिटि पनि सचेत छ र क्षेत्रको मतदाता नै उम्मेदवार बन्न पाउने अधिकारको कार्यान्वयन हुनेछ भन्नेमा पनि हामी विश्वस्त छौं भन्ने मेरो विश्वास छ ।
देशभरमा १६५ निर्वाचन क्षेत्र भएपनि काठमाडौँ ६ नं. क्षेत्र अझै पनि केन्द्रिय सदस्यमा रहेर काम गर्ने अवसरबाट बन्चित भएको विषयलाई अब क्षेत्र नं ६ ले गम्भिरताका साथ लिएको छ । कर्मठ र निष्ठावान कार्यकर्ता भएर पनि नेताको चाकडी गर्न नजानेका इमान्दार र स्वाभीमानी क्षेत्र नं ६ का मतदाता कार्यकर्ताले केन्द्रमा अवसर नपाउनुले र यस प्रकारको दलिय व्यवस्थाले मिसन ८४ प्रभावित बन्न सक्ने खतरा देखिन्छ ।
स्थानीय स्तरका जनताको चाहना र त्यस क्षेत्रको भूगोल र मतदाताको वा इमान्दार कार्यकर्ताको आवश्यकता,चाहना र सतत् कार्यलाई यसरी नै नजरअन्दाज गर्दै जाने हो भने फेरी पनि हामीले हार व्यहोनु पर्ने पक्का पक्की छ । तसर्थ यस कुरालाई मध्येनजर गर्दै स्थानीय स्तरका समस्या स्थानीय स्तरबाटै सुधार गर्ने र अधिकार पनि स्थानीय स्तरमै हस्तान्तरण गर्ने रणनीति लिएर मात्रै अगाडी बढ्नु पर्छ ।
पार्टीगत गुट,उपगुटलाई चिरेर पार्टीलाई एक ढिक्का बनाउन पर्छ । संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई परास्त गरि आजैदेखि पार्टी शुदृढीकरण र शुद्धिकरणमा लाग्न सके मात्र मिसन ८४ सफल हुन सक्छ । र,एमाले पार्टी एक राष्ट्रिय निर्णायक शक्तिका रुपमा स्थापित हुने कुरामा दुइमत रहँदैन । जसले पार्टीले लिएको समृद्ध नेपाल : सुखि नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न मद्दद पु¥याउने देखिन्छ ।
(लेखक फुयाँल नेकपा (एमाले) केन्द्रिय महाधिवेसन प्रतिनिधि परिसद् सदस्य पनि हुनुहुन्छ )
