
१ असोज,काठमाडौं । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गरेको छ । भिसा अवधि सकिएपछि पनि बस्ने,एउटा अस्थायी भिसाबाट अर्को भिसामा निरन्तर परिवर्तन गर्ने तथा प्रणालीको दुरुपयोग गर्नेहरूमाथि लक्षित नयाँ नियम ल्याएको छ।
गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा नयाँ आप्रवासन सुधार नीति सार्वजनिक गर्दै सरकारको लक्ष्य शुद्ध वैदेशिक आप्रवासनलाई कम गर्ने बताएका छन्।
बर्कका अनुसार सरकारले आप्रवासनलाई समर्थन गरे पनि आप्रवासन प्रणालीको दुरुपयोग गर्ने गतिविधि स्वीकार नगर्ने नीति लि इएको छ।
नयाँ व्यवस्थाअन्तर्गत भिसा अवधि सकिएपछि अस्ट्रेलियामै बसिरहनेलाई लक्षित गरिनेछ । विद्यार्थी भिसा प्रयोग गरेर अर्को भिसामा निरन्तर जाने ‘भिसा हपिङ’ रोक्न पनि नियम कडा बनाइने जनाइएको छ।
पर्यटक भिसालाई अस्ट्रेलियामा बसिरहने माध्यमका रूपमा प्रयोग हुन नदिन सबै भिजिटर भिसामा ‘नो फर्दर स्टे’ सर्त लागू गर्ने योजना छ।
अन्तर्राष्ट्रिय विद्यार्थीले डिपेन्डेन्ट तथा परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने विषयमा पनि थप कडाइ गरिने जनाइएको छ ।विद्यार्थीको संख्या घटाउने योजना नरहे पनि नयाँ व्यवस्थाले विद्यार्थीका परिवारलाई साथमा ल्याउने बाटो प्रभावकारी रूपमा बन्द गर्ने अपेक्षा गरिएको छ।
अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन नपाउने भएका छन् ।तर हालै परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीको परिवार छुट्याउने गरी नयाँ व्यवस्था लागू नगरिने बताइएको छ।
-एबीसी अस्ट्रेलिया न्युजबाट साभार
